Sagun Khabar
बैतडीमा चितुवाको आक्रमणमा परी एक बालक घाइते 
तस्बिर : घाइते पारस धनाडी

बैतडी – बैतडीमा चितुवाको आक्रमणमा परी एक बालक घाइते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीका १३ बर्षीय पारस धनाडीको चितुवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

मंगलबार बिहान विद्यालय जाने क्रममा धनाडीमाथि चितुवाले बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको प्रहरी प्रवक्ता जोशीले बताए । उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको बताइएको छ । घाइते धनाडीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ । धनाडी मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत छात्र हुन्  ।

बैतडीमा मानव र चितुवाको द्वन्द बढ्दै गएको छ । २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ भने ११ जना भन्दा बढी घाइते भएका छन् । यस्तै २०७४ साल यता बैतडीमा १२ चितुवा मारिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update