बैतडी –बैतडीमा फेरी चितुवाको आक्रमण बढ्दै गएको छ । दुईदिनको अवधिमा जिल्लाको शिवनाथ गाउँपालिकाका दुईजना चितुवाको आक्रमणमा परी घाइते भएका छन् ।
सोमबार राति शिवनाथ गाउँपालिका वडा नं ६ बसेडी अस्लाफाडीका ६८ बर्षीय बहादुर दमाई चितुवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
शौचालय जाने क्रममा चितुवाले आक्रमण गर्दा उनी समान्य घाइते भएका प्रहरी प्रवक्ता जोशीले बताए । उनको अवस्था समान्य रहेको छ ।
यस्तै चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका ६ कै एक १३ बर्षीय बालक घाइते भएका छन् । विद्यालय जाने क्रममा बसेडी ठाडाइजर भन्ने ठाउँमा चितुवाको आक्रमणबाट पारस धनाडी घाइते भएका प्रहरी निरीक्षक जोशीले बताए ।
उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको बताइएको छ । घाइते धनाडीको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । धनाडी मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत छात्र हुन् ।
बैतडीमा मानव र चितुवाको द्वन्द बढ्दै गएको छ । २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ भने ११ जना भन्दा बढी घाइते भएका छन् । यस्तै २०७४ साल यता बैतडीमा १२ चितुवा मारिएका छन् ।




