Sagun Khabar
बैतडीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने कांग्रेस नेता ऐरको घोषणा 

बैतडी –नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐरले प्रतिनिधि सभा सदस्य पलमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बैतडीबाट उम्मेदवारी दिने उनले बताए । 

नेपाली कांग्रेसले आफूलाई टिकट दिने र त्यसका लागि आफूले पार्टीका नेताहरुसंग छलफल गरिरहेको ऐरले बताए । उनले भने ‘अहिले पालो पनि मेरो हो । एक पटक मलाई पार्टीले न्याय गर्छ भन्ने लागेको छ ।’

गठबन्धन भएपनि बैतडी कांग्रेसको भागमा पर्ने दाबी गर्दै महासमिति सदस्य ऐरले जनताका समस्या समाधानका लागि आफूसंग योजना रहेको बताए । उनले भने ‘पाँच बर्षका लागि बैतडेली जनताले मलाई अवसर दिनेछन् । मसंग जनताका लागि काम गर्ने योजना छ । पाँच बर्षपछि म सक्रिय राजनीतिबाट बिदा लिनेछु ।’

रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा कुराकानी गर्दै ऐरले नेपाली कांग्रेसभित्र देखिएको समस्या समाधानका लागि नेतृत्वले पहल गर्नुपर्ने बताए । जिल्ला तहमा पार्टीभित्र समस्या देखिएको औंल्याउँदै उनले नेतृत्वले सही काम गर्न नसकेको आरोप लगाए । उनले भने ‘मलाई पनि विभिन्न आरोपहरु लगाइन्छन् । तर काम अरुले बिगार्छन, आरोप मलाई लगाइन्छ ।’

गएको स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै महासमिति सदस्य ऐरले यो बिषयमा नेतृत्वले जिम्मा लिनुपर्ने बताए । नेपाली कांग्रेसकै प्रभाव क्षेत्रमा कमजोर नतिजा देखिएकाले यो बिषयमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update