बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ७ उपल्लाबाटुला विद्युत सेवा विस्तार भएपछि स्थानीयबासी खुसी भएका छन् । पोल गाडेको बर्षौंपछि गाउँमा विद्युत सेवा विस्तार भएको हो । विद्युतको राष्ट्रिय प्रशारण लाइन गाउँमा जोडिएपछि स्थानीयबासीहरु खुसी भएका हुन् ।
विद्युत नहुँदा सल्लाको दियालो, टुकी, मैनबत्ती लगायतका साधनहरु प्रयोग गर्दै आएका त्यहाँका बासिन्दाहरु विद्युत बलेपछि खुसी भएका छन् ।
लामो समयको प्रयासपछि गाउँमा विद्युत विस्तार भएको र यसले स्थानीयबासीहरुलाई सुविधा भएको पाटन नगरपालिका वडा नं ७ का वडा सदस्य बीरसिंह ठगुन्नाले बताए ।
गाउँमा विद्युत विस्तार भएपछि अब विद्यार्थीहरुलाई पनि पठनपाठनमा सहज भएको छ । यस्तै शहरी स्वास्थ्य केन्द्रका सेवाहरु विस्तारमा समेत सहयोग पुग्ने शहरी स्वास्थ्य केन्द्र उपल्लाबाटुलाका प्रमुख प्रकाश खत्रीले बताए ।
समयमै विद्युत विस्तार नहुँदा उपल्लाबाटुला करीब एक सय घरधुरी अन्धकारमा रहेका थिए । अहिले विद्युत विस्तार भएपछि स्थानीयबासी खुसी भएका जयपूर आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिंह साउँदले बताए । उनले भने ‘गाउँमा बिजुलीबत्ती बलेपछि गाउँको मूहार नै फेरिएको अनुभूती गरेका छौं ।’
विद्युत सेवा विस्तार भएसंगै गाउँमा मिल सञ्चालन गर्न सकिने र यसले महिलाको घरायसी कार्यबोझमा कमी ल्याउने स्थानीय मानसिंह खत्रीले बताए ।




