Sagun Khabar
बैतडीको सिन्केलेकमा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा डिस्पोज 

बैतडी –सुर्नया गाउँपालिका–३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ । सतबाँझ–गोकुलेश्वर सडक छेउमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हनुमानध्वज गुल्मका गुल्मपती सेनानी गोविन्द थापाले बताए । 

ब्याट्रीमा तार जोडेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको र त्यसलाई सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेपनि बम हो कि होइन भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको छ । 

गुल्मका सहसेनानी, क्याप्टेन नवराज फुँयालको नेतृत्वमा रहेको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो । 

यसअघि मंगलबार बिहान दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको  सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएका थिए । 

ती शंकास्पद वस्तुलाई सेनाको टोलीले नै डिस्पोज गरेको थियो । डिस्पोज गरिएका शंकास्पद वस्तु बम नरहेको सेनाले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ ।  बन्दका कारण बैतडीमा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्थामा पनि यसको प्रभाव परेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update