बैतडी – नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’अभियानका लागि सुदूरपश्चिमका सबै जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरेर अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको हो ।
सुदूरपश्चिमको बैतडीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकलाई खटाइएको छ । यसअघि केन्द्रिय सदस्य विद्यादेवी तिमिल्सनालाई केन्द्रिय प्रतिनिधि खटाउने भनेपछि अहिले रमेश लेखकलाई प्रतिनिधिको रुपमा खटाएको नेपाली कांग्रेसले जनाएको छ । नेता लेखकको पुख्र्यौली घर बैतडी भएकै कारण उनको यो जिल्लामा प्रभाव रहेको छ । लेखकलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाउँदा अभियान सार्थक हुने कांग्रेसको बुझाई छ ।
सुदूरपश्चिमको बाजुरामा अर्जुनजंगबहादुर सिंह, बझाङमा गोविन्दबहादुर शाह, डोटीमा नृपबहादुर वड, अछाममा रणबहादुर रावल, दार्चुलामा यज्ञराज जोशी,डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा रामजनम चौधरी र कैलालीमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको हो ।
पहिलो चरणमा भदौ १० गतेदेखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने बताइएको छ ।
काँग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।




