बैतडी –बैतडीका तीन ठाउँमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । विल्पव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित चार दलले आह्वान गरेको बन्दका दिन बैतडीका तीन ठाउँमा शंकास्पद वस्तु फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको सतबाँझस्थित भण्डारी आयलस्टोर नजिक सडक छेउ र सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिकाको गेट नजिक सडकमै आज बिहान शंकास्पद वस्तु फेला परेका थिए । ती दुवै ठाउँमा फेला परेका शंकास्पद नेपाली सेनाका क्याप्टेन नवराज फुँयालको नेतृत्वमा रहेको बम डिस्पोजल टोलीले डिस्पोज गरेको नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति गोविन्द थापाले बताए ।
भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएका थिए ।
ती शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको थियो । डिस्पोज गरिएका शंकास्पद वस्तु बम नरहेको सेनाले जनाएको छ ।
यस्तै मंगलबार दिउँसो सतबाँझ –गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा सडक छेउमै शंकास्पद वस्तु फेला परेको र त्यसलाई पनि डिस्पोज गरिएको सेनानी थापाले बताए । सिन्केलेकमा डिस्पोज गरिएको वस्तु पनि बम नरहेको सेनानी थापाले बताए ।
विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ । बन्दका कारण बैतडीमा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्थामा पनि यसको प्रभाव परेको छ ।




