बैतडी – राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेको बैतडीको पाटन नगरपालिकाले लगत संकलनको काम थालेको छ । नगरपालिकाभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत संकलनको काम शुरु गरिएको हो ।
नगरपालिकाले प्रत्येक वडा कार्यालयहरुलाई पत्र लेख्दै आगामी असोज ४ गतेसम्म लगत संकलन गरिसक्न निर्देशन दिएको छ । भूमीहिन दलित र भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने उद्देश्यले लगत संकलनको काम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए ।
केही दिन पहिला नगरपालिकाले भूमीहिन दलित,भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेको र सोही सम्झौता अनुसार लगत संकलनको काम शुरु गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।
बैतडीका सात ओटा स्थानीय तहहरुले भूमी आयोगसंग सम्झौता समेत गरिसकेका छन् । पञ्चेश्वर गाउँपालिकाले यसअघि नै लगत संकलन गरिसकेको छ । जिल्लाका डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिका बाहेकका स्थानीय तहहरुले भूमी आयोगसंग सम्झौता गरिसकेका आयोगका बैतडी अध्यक्ष धर्मसिंह ऐरले बताए ।
राष्ट्रिय भूमी आयोगले पनि ३५ दिने सूचना प्रकाशन गर्दै बैतडीका ६ स्थानीय तहका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । जिल्लाको मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाका भूमीहिनहरुलाई आवेदन दिन आयोगले सूचना प्रकाशन गरेको हो ।
स्थानीय तहहरुबाट लगत संकलन भएपछि भूमीहिनहरुको व्यवस्थापनको काम अघि बढ्ने आयोगका बैतडीका अध्यक्ष ऐरले बताए ।





