बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्रबाट चुनाव जितेका पालिका अध्यक्ष सन्तोषप्रकाश जोशी सहितको टीम अहिले एमालेमै फर्किदैछ भन्ने व्यापक हल्ला चलेको छ । डिलाशैनीमा पालिका अध्यक्षमा जोशी सहित अन्य तीन जना वडा अध्यक्ष समेत स्वतन्त्रबाट चुनाव जितेका थिए ।
जोशी चुनाव भन्दा अगाडि एमालेकै सक्रिय राजनीतिमा भएकाले उनी एमालेमै फर्कने सम्भावना रहेको धेरैले औंल्याएका छन् । वडा नं ५ का अध्यक्ष एवं डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट एमालेमा फर्किएको एमालेकै नेताहरुले बताउने गरेका छन् । यद्यपि भट्टले भने सो कुरा अस्वीकार गरेका छन् । उनले भने ‘अहिले सम्म म एमालेमा फर्केको छैन् । स्वाभाविक रुपले एमालेसंग लामो समय नजिक रहेर काम गरेकाले त्यो पार्टीका नेता, कार्यकर्ताहरुसंग नजिक हुन सक्छु । तर अहिले नै पार्टीमा फर्केको छैन् ।’
एमालेमकै क्रियाशील एकजनाले यज्ञराज भट्टले पार्टी अध्यक्ष केपी ओलीबाट टीका लगाईसकेको उनी पार्टीमा फर्किसकेको दाबी गरे ।
एमालेमा फर्कने कुरा तत्काल सम्भव नरहेको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । आफूमात्रै नभएर स्वतन्त्रको टीम अहिले कुनै पनि दलमा नफर्केको उनले स्पष्ट पारे । उनले भने ‘राजनीतिक दलमा आवद्ध हुने नैसर्गिक अधिकार छ । तर अहिले नै हामी कुनै पार्टीमा फर्केका छैनौं ।’
एमालेमा फर्कने हल्ला चुनावको बेला गरेको हल्लामात्रै भएको उनले टिप्पणी गरे । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एजेण्डाका आधारमा आफूहरुले जुनसुकै पार्टीको उम्मेदवारलाई पनि सहयोग गर्न सक्ने उनले बताए । उनले भने ‘हामीले एजेण्डाका आधारमा, जसको एजेण्डा राम्रो छ उसलाई हामी सहयोग गर्छौं । अहिले नै हामी कुनै पार्टीमा फर्केका छैनौं ।’




