बैतडी –बाजुराको बडिमालिका सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ । बडिमालिकाको दर्शनका लागि नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । ठूलो कष्ट गरेर बडिमालिका यात्रा गर्नुपर्ने त्यहाँ पुगेका जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए ।
तर बैतडी सदरमुकामस्थित मालिका डाँडामा पनि बडिमालिका भगवती नै रहेको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । मालिका डाँडाको दर्शन गरेमा बडिमालिका पुगेजत्तिकै फल प्राप्त हुने भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय ८० बर्षीय वृद्ध बीरबहादुर चन्दले बताए । उनले भने ‘परापूर्वकालमा ठकुरी वंशमा सन्तान नहुँदा बडिमालिका जाने तयारी गरेको तर बडिमालिकाले सपनामा आएर आफू मालिकाडाँडामा रहेको बताएपछि यतै पूजाआजा गर्ने गरिएको छ ।’
बैतडीको मालिका डाँडामा पनि बडिमालिकामा पूजा लागेकै दिन पूजा लाग्ने गरेको पूजारी माधवप्रसाद लेखकले बताए । हरेक बर्षको श्रावण शुक्ल चतुर्दशीका दिन मालिका डाँडामा पूजाआजा हुने गरेको उनले बताए । उनले भने ‘मालिका डाँडामा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । परापूर्वकालदेखि नै पूजाआजा चलेको छ । बडिमालिका पुग्न नसक्नेहरुले मालिका डाँडाको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’
मालिका डाँडामा पूजाआजा गर्दा मनोकामना पूर्ण भएकाले परापूर्वकालदेखि नै सो ठाउँमा पूजाआजा हुने गरेको संस्कृतिका जानकार चन्दले बताए । उनले भने ‘अहिले पनि सदरमुकाम आसपासबाट भक्तजनहरु मालिका डाँडामा दर्शनका लागि पुग्ने गरेका छन् ।’
अन्य देवीदेवताको पूजाआजा हुनुभन्दा पहिला नै मालिकाडाँडामा अन्न चढाएर पूजाआजा गर्ने चलन रही आएको पूजारी लेखकले बताए ।
बडिमालिका माता र मालिका डाँडाको सम्बन्ध ऐतिहासिक रहेकाले यो बिषयमा खोजबीन हुनुपर्ने स्थानीय संस्कृतिका जानकार हेमबाबु लेखकले बताए । ऐतिहासिक, धार्मिक महत्वका यस्ता सम्पदाहरुको प्रचारप्रसार हुनुपर्नेमा उनले जोड दिए ।




