Sagun Khabar
बैतडीः हावाहुरीले उडाएको डाँडाबाग आविकोे छानो मर्मत भएन्, पठनपाठन प्रभावित 

बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं ६ हिरापुर स्थित डाँडाबाग आधारभूत विद्यालयको हावाहुरीले उडाएको छानो मर्मत नहुँदा समस्या भएको छ । बैशाख महिनामा आएको हावाहुरीले विद्यालयको तीन कोठे भवनको छानो उडाएको महिनौ सम्म मर्मत नहुँदा   बालबालिकाहरुलाई बस्न समस्या भएको हो ।

बैशाख महिनामा हावाहुरीले विद्यालको जस्तापाताले छाएको छानो उडाएपनि अहिले सम्म मर्मत नहुँदा समस्या भएको विद्यालयका शिक्षक लक्ष्मण सिंह कठायतले बताए । छानो मर्मत नहुँदा पानी परेको दिन बालबालिकाहरुलाई एउटै कक्षामा बसालेर  पढाउनु  पर्ने बाध्यता रहेको उनले बताए ।

उनले  भने ‘ विद्यालयको तीन कोठे जस्ता पाताले छाएको भवनको  छानो बैशाखमा हावाहुरीले उडायो, अहिले सम्म मर्मत हुन सकेको छैन्, बालबालिकाहरुलाइ एउटै कोठामा बसालेर  पढाउने गरेका छौँ, सारै अप्ठारो भएको छ ।’ विद्यालय परिवारले सम्बन्धित निकायलाई छानो मर्मतका लागि अनुरोध गरिएपनि कुनै चासो नदिएको आरोप लगाएको छ ।

स्कुल परिवारले छानो मर्मतका लागि नगरपालिकालाई क्षतिको विवरण पनि बुझाएको छ । तर बजेट प्राप्त भएको छ्रैन । कक्षा ८ सम्म पढाइ हुने डाँडाबाग आधारभूत विद्यालको तीन कोठे छानो हावाहुरीले उडाएपछि अहिले बालबालिकाहरुलाई बस्न समस्या भएको हो । बसाइ व्यवस्थापनमा समस्या भएपछि  पठनपाठन प्रभावित हुने गरेको बताइएको छ ।

विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत दुई कोठो  भवन बनिरहेपनि पूर्ण रुपमा निर्माण कार्य सम्पन्न नभएको बताइएको छ । गत आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने भएपनि अहिले सम्म निर्माण सम्पन्न नभएको शिक्षक कठायतले  बताए । पाटन नगरपालिकाले भने छानो  मर्मतका लागि बजेट छुट्टाएको तर विद्यालयले काम नगर्दा  भुक्तानि नभएको बताएको छ ।

वडा नं ६ का अध्यक्ष राजेन्द्र  विष्टले छानो मर्मतका लागि नगरपालिकाले बजे छुट्टाएको र विद्यालयले नै काम नगर्दा बजेट निकासा नभएको बताए । उनले भने ‘म आफै विद्यालयको निरीक्षणमा गएको थिए । छानो उडाएको क्षतिबारे बुझेर बजेटका लागि नगरपालिका संग पहल गरे । नगरपालिकाले बजेट छुट्टाएको थियो । विद्यालय व्यवस्थापन समितिले काम नगरिदिदा भुक्तानी भएको छैन् ।’काम गरेपछि नगरपालिकाले भुक्तानी दिने उनले बताए ।

व्यवस्थापन समिति विना पैसा काम नगर्ने, नगरपालिका काम नगरि पैसा नदिने भएपछि बालबालिकाहरुको बस्ने ठाउँ अभावमा डाँडाबाग आधारभूत विद्यालयमा पठनपाठन प्रभावित भइरहेको  छ । 

पाटनमा मात्रै  नभइ  जिल्लाका  अन्य पालिकामा समेत  विद्यालयहरुका छानो हावाहुरीले उडाएका छन् । समयमै  सम्बन्धित निकायले  मर्मतमा चासो  नदिदा समस्या भएको  छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update