Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी 

बैतडी –बैतडीको  सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको  छ । सेनेटरी प्याड खरीद प्रक्रियाको सूचना नदिएको भन्दै  ४÷५ जनाको  समूहले  गाउँपालिकामा शुक्रबार तालाबन्दी  गरेका हुन् ।

उनीहरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालको कार्यकक्षमा तालाबन्दी गरेका छन् । गत साउन २४ गते सेनेटरी प्याड खरीद प्रक्रियाको सूचना माग गर्दै निवेदन दर्ता गरेको भएपनि अहिले सम्म सूचना उपलब्ध नगराएपछि तालाबन्दी गरिएको सूचना मागकर्ता देवबहादुर चन्दले बताए  । उनले  भने ‘१६ लाखको  सेनेटरी प्याड खरीद गरिएको भन्ने सुनियो । यो बिषयमा हामीले सत्यतथ्य जानकारी मागेका छौं । खरीद प्रक्रियाका बिषयमा पनि जानकारी मागेका छौं । तर गाउँपालिकाले सूचना उपलब्ध नगराएपछि तालाबन्दी गरेका हौं ।’

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले भने उक्त समूहले माग गरेको सूचना दिएको दाबी गरे ।  तर उनीहरुले बील र भरपाई समेत मागेको र त्यो  दिन नसकिएको उनको  भनाइ छ । 

सूचना उपलब्ध नहुँदा सम्म  तालाबन्दी  नखुल्ने उक्त समूहले  जनाएको  छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update