बैतडी –चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको संयुक्त बजार अनुगमन समिति बैतडीले आज सुर्नयाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । सुर्नयाको सनशेरीमाण्डौ, कठेगौंडा लगायतका बजारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
अनुगमनका क्रममा म्याद नाघेको ८ हजार १ सय ६९ बराबरको अखाद्य सामग्री नष्ट गरिएको छ । सनशेरीमाण्डौंमा बजार अनुगमनका लागि टोली पुगेका थाहा पाउने बित्तिकै कठेगौंडा लगायतमा पसलेहरुले बजार बन्द गरेका थिए । टोली आउने खबर पाएपछि उनीहरुले पसल बन्द गरेकाले ७ जनालाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको सूचना अधिकारी भारतीले बताए ।
ग्रामीण क्षेत्रका बजारमा अनुगमन नभएको गुनासो आइरहेका बेला संयुक्त बजार अनुगमन टोली सुर्नयाका बजारमा अनुगमनका लागि पुगेको हो । उपभोक्ताको हित विपरीत खाद्य सामग्री विक्रि वितरण गर्नेलाई कानुन अनुसार कारवाही हुने बताइएको छ ।
यसअघि संयुक्त बजार अनुगमन समितिले दोगडाकेदार,ढोल्यामोड, मोतीनगर, बाचपानी लगायतका बजारमा अनुगमन गरिसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीन अधिकारीले बताए ।




