बैतडी –बैतडीमा पनि नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’अभियान शुरु भएको छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरेर पहिलो चरणको उक्त अभियान सञ्चालन गरिएको हो ।
पार्टी कार्यालयमा गोठलापानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै सभापति चन्दले केन्द्रको निर्देशन अनुसार अभियान शुभारम्भ भएको बताए ।
जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तरक्रिया गर्ने उद्देश्यले अभियान शुभारम्भ गरिएको उनले बताए ।
यस्तै कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माओल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको कांग्रेसका बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै पार्टी उपसभापति वीरबहादुर विष्टले कांग्रेस बैतडी एकढिक्का भएर गठबन्धनमा भोट हाल्ने बताए ।
अभियान अन्र्तगत पहिलो चरणमा आजदेखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने बताइएको छ ।
यसअघि कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गरेको थियो ।
अभियान सञ्चालनका लागि बैतडीमा केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य रमेश लेखकलाई खटाइएको छ । केही दिनभित्रै लेखक बैतडी पुगेर अभियानमा सरीक हुने सचिव चन्दले बताए ।
यस्तै बैतडीका दुवै प्रदेश निर्वाचन क्षेत्रमा पनि सुदूपश्चिम प्रदेश कार्यसमितिले प्रतिनिधि खटाएको छ । प्रदेश सभा क्षेत्र नं (क) प्रदेश सदस्य निर्मला बोगटी बिष्ट र प्रदेश सभा क्षेत्र नं (ख) प्रदेश सदस्य धर्मानन्द भट्टलाई खटाएको छ ।




