बैतडी –बैतडीमा बृहत यौनिकता शिक्षा र स्थानीय पाठ्यक्रम सम्बन्धि अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । दशरथचन्द नगरपालिकासंगको समन्वयमा फाया नेपालले सम्वादको आयोजना गरेको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) सहयोगमा अन्तरसम्वाद सम्पन्न गरिएको हो ।
विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गर्नुपर्ने र बृहत यौनिकता शिक्षाका बिषयमा ज्ञान दिनका लागि यो बिषय स्थानीय पाठ्यक्रममा समावेश गर्न सहज होस भनेर अन्तरसम्वादको आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
अन्तरसम्वाद यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा खुलेर कुरा गर्ने वातावरणको विकासमा सहजता ल्याउने दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । उनले भने ‘हाम्रो समाजमा यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा कमजोर बुझाइ रहेको छ । यस्ता खालका कार्यक्रमहरुले समाजमा रहेका कमजोर बुझाइ हटाउन सहयोग मिल्छ ।’
अन्तरसम्वादमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा परिवारबाटै जानकारी हुनुपर्नेमा जोड दिए ।
बृहत यौनितका शिक्षाका बिषयमा जानकारी नभएमा विभिन्न खालका समस्या हुन सक्ने भएकाले यो शिक्षाका बिषयमा सबैलाई जानकारी राख्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा जानकारी नहुँदा विभिन्न खालका समस्या आउँछन् । त्यसैले यो बिषयमा जानकारी राख्नु आवश्यक छ ।’
फाया नेपालले बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा बृहत यौनिकता शिक्षाका बिषयमा जानकारी दिनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक लालबहादुर महराले बताए ।




