Sagun Khabar
गौराका लागि घर फर्कन थाले सुदूरपश्चिमेली 

बैतडी –सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आएपछि गाउँघरमा चहलपहल बढेको छ । गौराका लागि घर बाहिर रहेकाहरु पनि घर फर्कन थालेका स्थानीयहरुले बताएका छन् । खास गरेर रोजगारीका लागि भारत पसेकाहरु पनि गौराका लागि घर फर्कन थालेको दशरथचन्द नगरपालिका वडा नं २ का स्थानीय गगनसिंह भण्डारीले बताए । उनले भने ‘अहिले गौराका लागि घर आउने मानिसको संख्या दिनदिनै बढीरहेको छ । गौराको समयमा परिवारका सबै सदस्य एकैठाउँमा बसेर मनाउने चलन रही आएको छ ।’

भारतसंग सीमा जोडिएका नाकाहरुबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा बढेको छ । बैतडीको सीमा नाका झुलाघाटबाट स्वदेश भित्रिनेको संख्या हिजोआज निकै बढेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । 

गौराका लागि परिवारका सबै सदस्य एकैठाउँमा बसेर मनाउने चलन रहेकाले आफू भारतबाट घर फर्केको बैतडीको दोगडाकेदारका केशवराज जोशीले बताए । उनले भने ‘हाम्रो ठाउँमा दशैंभन्दा पनि गौरालाई बढी महत्वका साथ मनाइने गरिन्छ । त्यसैले गौरा मनाउनका लागि घर आएका हौं ।’

गौरा नजिकिएसंगै गाउँघरमा चहलपहल बढेको छ । परदेश रहेकाहरु पनि गाउँमा फर्केपछि अहिले रमाइलो वातावरण भएको सुर्नया ४ का भानबहादुर चन्दले बताए । उनले भने ‘अहिले गाउँमा गौराको रौनक बढेको छ । घर फर्कने मान्छेहरु दिनानुदिन आइरहेका छन् ।’

भाद्र शुक्ल पञ्चमीबाट यो बर्षको गौरा शुरु हुने भएकाले बसाइसराइ गरेकाहरु पनि जिल्ला भित्रिन थालेका छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखलाहरुमा खेल हुने भएकाले पनि बसाइसराइ गरेकाहरु पुख्र्यौली थलोमा फर्कने गरेका हुन् । 

गौरालाई सामाजिक सद्भावको पर्वका रुपमा समेत लिन सकिने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘गौराको समयमा गाउँका सबै मानिस एक ठाउँमा जमा भएर सुखदुख साटासाट गर्न पाउँछन् । यसले गर्दा सामाजिक सद्भावमा पनि वृद्धि गरेको छ ।’
 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update