बैतडी –बैतडीका स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधिको अभाव रहेको छ । स्वास्थ्यचौकी तहबाट ३८ प्रकारका औषधि निशुल्क पाइने भएपनि केही औषधिको अभाव रहेको छ । अनुगमनका क्रममा केही स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधिको अभाव रहेको पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘अहिले स्वास्थ्यचौकीबाट ३८ प्रकारका औषधि निशुल्क रुपमा पाइन्छ । ती मध्ये केही औषधिको अभाव रहेको हामीले पाएका छौं ।’
अहिले स्वास्थ्य संस्थाहरुमा सम्बन्धित पालिकाहरुले औषधिको आपूर्ती गर्दै आएका छन् । औषधि खरीद गर्नका लागि पालिकामै बजेट हुने भएकाले पालिकाले नै औषधि खरीद गरेर स्वास्थ्यचौकीमा पठाउने गरेको छ । तर स्वास्थ्य संस्थाहरुमा भने अनुसारका निशुल्क औषधि नपाउने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । स्थानीय तहहरुले समयमै औषधि खरीद नगर्ने, समयमै आपूर्ती नगर्ने गरेका कारण नागरिक समस्यामा परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाको न्वाली स्वास्थ्यचौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्यचौकीमा अनुगमन गर्दा निशुल्क औषधिको अभाव रहेको पाइएको स्वास्थ्य प्रमुख भट्टले बताए । केही स्वास्थ्य संस्थामा अक्सिटोसिन लगायतका अत्यावश्यक औषधिको समेत अभाव रहेको पाइएको छ ।
स्थानीय तहहरुले औषधि खरीद गर्दा प्रक्रिया मिचेर खरीद गरिरहेको महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा औषधि खरीद गर्दा विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका औषधि खरीद नभएको प्रतिवेदनमा औंल्याइएको छ । यस्ता खालका औषधिले मानव स्वास्थ्यमा समेत असर पार्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।




