Sagun Khabar
बैतडीको सुर्नयाका सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थीले मोबाइल लैजान नपाउने 

बैतडी –बैतडीको सुर्नया गउँपालिकाले विद्यालयमा मोबाइल प्रयोग निषेध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै मोबाइल विद्यालयमा लैजान र प्रयोग गर्न नपाइने जनाएको छ । 

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुले विद्यालय समय भित्र फेसबुक चलाएका गुनासा बढेकाले  मोबाइल प्रयोगमा निषेध गर्न सम्बन्धित सबै विद्यालयलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए । उनले भने ‘विद्यालयमा मोबाइलको दुरुपयोग बढेको गुनासो आएपछि हामीले विद्यालयहरुलाई परिपत्र गरेका छौं । विद्यालय समयभित्र अब मोबाइल प्रयोग गर्न पाइने छैन् ।’

विद्यालय समयभित्र विद्यालयमा मोबाइल प्रयोग निषेध गर्न सामुदायिक विद्यालय र  प्रधानाध्यापकहरुलाई  अनुरोध गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

मोबाइल फोनका कारण पढाइमा असर परिरहेका बेला गाउँपालिकाले प्रयोग निषेध गर्न गरेको परिपत्र कार्यान्वयन भए  शैक्षिक गुणस्तरमा सुधार आउने  अपेक्षा गरिएको  छ । मोबाइल फोनका कारण पढाइमा असर परेर विभिन्न विकृतिहरु समेत बढेकाले गाउँपालिकाले   चालेको  कदम ठिक भएको र यसको कार्यान्वयन हुनुपर्ने अभिभावहरुको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update