Sagun Khabar
नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलनका कारण बैतडीका विद्यालय पनि बन्द 

बैतडी –नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलनका कारण बैतडीका सामुदायिक विद्यालय बन्द भएका छन् । चरणबद्ध आन्दोलनमा रहेको परिषदले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै आजदेखि सामुदायिक विद्यालयहरु पठनपाठन ठप्प गरेको हो । 

विद्यालय कर्मचारी परिषदको आन्दोलनका कारण जिल्लाका सामुदायिक विद्यालयहरुमा पठनपाठन हुन नसकेको सिद्धनाथ मावि सिलंगाका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । विद्यालयमै कार्यरत कर्मचारी आन्दोलनमा उत्रेपछि विद्यालय बन्द भएका हुन् । 

तलब वृद्धि हुनुपर्ने, यो भन्दा पहिला भएका सम्झौता कार्यान्वयन हुनुपर्ने लगायतका आफ्ना मागहरु रहेका नेपाल विद्यालय कर्मचारी परिषदका जिल्ला सदस्य बसन्त पन्तले बताए । उनले भने ‘यसअघि सरकारले हामीसंग वार्ता गरेर माग पूरा गर्ने आश्वासन दिएको थियो । तर हाम्रा माग पूरा भएनन् । त्यसैले हामी आन्दोलनमा उत्रेका हौं ।’

विद्यालय कर्मचारी परिषदले गरेको आन्दोलनमा कतिपय विद्यालयहरुले पत्र नै लेखेर आन्दोलनमा सहयोग रहेको जनाएका छन् । विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रेका र उनीहरुका माग जायज रहेको भन्दै विभिन्न संघ–संगठनहरुले आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् । विद्यालय कर्मचारी परिषदले माग पूरा नभए भर्दा १८ गते सम्म विद्यालय बन्द गर्ने जनाएको छ । 

तर विद्यालय बन्द गरेर आन्दोलन गर्नु उपयुक्त नभएको कतिपयले औंल्याएका छन् । आन्दोलनका अन्य विकल्प हुँदाहुँदै विद्यालय बन्द गर्नु उपयुक्त नभएको अनेरास्ववियु बैतडीका अध्यक्ष नरेन्द्र साउँदले बताए । 

कर्मचारीहरुको आन्दोलनका कारण सामुदायिक विद्यालय ठप्प भएपछि बालबालिकाहरुको पठनपाठनमा असर परेको छ । विद्यालय बन्द गरेर आफ्ना माग पूरा गराउनु ठीक नभएको कतिपय अभिभावकहरुको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update