बैतडी –बैतडीमा संयुक्त बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । जिल्लाको सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका बजारमा अनुगमन गरेको समितिले शनिबार पुर्चौंडीमा अनुगमन गरेको छ ।
जिल्लाको दुर्गम भनेर चिनिने पुर्चौंडीमा संयुक्त बजार अनुगमन टोली पुगेर हाट बजारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘हामीले पुर्चौंडी नगरपालिकाको हाट बजारमा अनुगमन गरेका छौं । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका अखाद्य सामग्री बरामद गरेर नष्ट गरेका छौं ।’
२५ ओटा पसलमा अनुगमन गर्दा ४१ हजार बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको सूचना अधिकारी भारतीले बताए । यस्तै ११ जनालाई सात दिनभित्र प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ भने एकजनालाई १० हजार रुपैंया जरीवाना गरिएको छ ।
अखाद्य सामग्री विक्रि वितरण गरेका, कागजपत्र अपुग भएकाहरुलाई सातदिन भित्र उपस्थित हुन निर्देशन दिइएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ । यस्तै अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता नभएकाहरुलाई दर्ता हुन भनिएको छ भने मूल्य सूची पनि राख्न आग्रह गरिएको छ । यस्तै खाद्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद विक्रि गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीन अधिकारीले बताए ।




