बैतडी –पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अहिलेको राजनीतिमा सन्तोष गर्नुपर्ने ठाउँ नरहेको बताएका छन् । रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले अहिलेको राजनीतिका अभ्यासले धेरै मानिस असन्तुष्ट रहेको बताएका हुन् । पूर्व प्रधानमन्त्री चन्दसंग भगीरथ अवस्थीले गरेको कुराकानीको सम्पादित अंश
तपाँई अहिलेको राजनीतिबाट सन्तुष्ट हुनुुहुन्छ ?
मेरो विचारमा म मात्रै होइन् धेरै मानिसहरु मेरो विचारमा सहमत होलान् । राजनीति मात्रै नभएर आर्थिक भनौं सामाजिक भनौं यी क्षेत्रहरु ठीक स्थितमा गइराखेका छैनन् । ठीक होला भन्ने आसा पनि छैन् ।
राजनीतिलाई सन्तोषजनक रुपमा अगाडि बढाउन के गर्नु आवश्यक देख्नुहुन्छ ?
यो आवधिक निर्वाचन । बेला बेलामा चुनाव हुनु प्रजातन्त्रको राम्रो पक्ष हो । तर हाम्रोमा चुनाव कसरी भइरहेको छ ? अब यो करोडौं खर्च गरेर चुनाव हुने गर्दछ । प्रशासनलाई पनि इन्भल्ब गराएर, कतै बाक्स नै फेरबदल गरेर चुनाव हुन्छ, त्यसले केही फाइदा हुँदैन् । जो करोडौं खर्च गरेर प्रतिनिधि आउँछ, उसले त्यहाँ त जमा गर्नुपर्यो । त्यसैले राजनैतिक भ्रष्टाचार, जसरी हामी निर्वाचन गरिराख्या छौं त्यसैले जन्म दिन्छ । राजनीतिक क्षेत्रमा भ्रष्टाचार त्यँहीनेर शुरु हुन्छ, जहाँ मतदान हुन्छ । हुन त निर्वाचन आयोगले अनेक कुराहरु गरिरहेको छ, राम्रै छ । तर हाम्रोमा के छ भने निर्वाचन आयोगसंग दाँत पनि छैन नांग्रा पनि छैन् ।
तपाँइसंग पटक–पटक चुनाव लडेको अनुभव छ । पहिलाको चुनाव र अहिलेको चुनावलाई कसरी तुलना गर्नुहुन्छ ?
पहिला चुनावमा ५०–६० हजार रुपैंया खर्च हुन्थ्यो आम चुनावमा । एजेण्टहरु बसेको केही लिँदैनथे । त्यो बेला पैसा माग्ने इत्यादि चलनै थिएन् । त्यो बेला एकबुथमा डेढ सय जतिमात्रै खर्च हुन्थ्यो । तर अहिले उल्टो चलन बढेको छ । मान्छेहरु चिया पिउनोस भन्छन् पछि डबल बील पेश गर्दै हिड्छन् भन्ने सुन्छु । अहिले त समय पनि परिवर्तन भयो सहयोग गर्ने भन्ने कसैमा भावना नै छैन् ।
संघीयता आएपछि कतिपयले यो व्यवस्थामाथि नै प्रश्न उठाउन थालेका छन् । यो व्यवस्थाप्रति तपाँइको धारणा चाँहि के छ ?
होइन्, अब संविधान भन्दा पनि चलाउने मान्छेले कसरी चलाए त्यसमा भर पर्छ । मलाई लाग्छ विपीले पनि एकचोटी भन्या थिए संविधान त केही होइन कागज हो तर त्यसलाई कसरी चलाईन्छ, त्यो महत्वपूर्ण कुरा हो । अब प्रजातन्त्रको मूल भाव बुझेर अगाडि बढ्यो भने सबै कुरा ठीक हुन्छ । जे गरेर पनि म सत्तामा बसीरहनुपर्छ भन्ने भावनाले काम गरिरह्यो भने त्यो प्रजातन्त्र पनि फस्टाउँदैन् मुलुकलाई पनि फाइदा हुँदैन् ।
तपाँईलाई राजनैतिक उत्तराधिकारी जन्माउन सकेनन् भन्ने आरोप लाग्छ नि ?
उत्तराधिकारी त अब के गर्ने कोशिस गरिएक है । अब भएन् ।
तपाँईलाई लाग्ने अर्को आरोप भनेको लोकेन्द्रबहादुर चन्द चार–चार चोटी प्रधानमन्त्री भएर केही गर्न सक्नु भएन् भन्ने छ । यसमा तपाँईको भनाइ के छ ?
त्यो बेलाको जिल्लाको स्थितीलाई बिर्सनुभयो क्यारे मेरो जोरीपारीको मान्छेलाई थाहा होला । त्यो बेला बजेट पनि थोरै थियो । त्यो बेला बजेट साह्रै कम हुन्थ्यो । अब अहिले खरबौंमा बजेट आउँछ । मेन कुरा भनेको बाटो र बिजुली हो । त्यो बेला त्यो काम गरियो जस्तो लाग्छ । त्यो बेला जनताको सहयोग पाइन्थ्यो । म जनताप्रति धेरै आभारी छु ।
अबको चुनावमा लोकेन्द्रबहादुर चन्दले उठाएको उम्मेदवार आउँछ ?
त्यो बिषयमा छलफल भइरहेको छ । अहिले नै केही निर्णय भएको छैन् । अहिले भन्न सकिने अवस्था छैन् ।
तपाँई राजनीतिका साथसाथै साहित्यमा पनि लाग्नुभयो ? राजनीति र साहित्य संगसंगै कसरी लग्नुभयो ? यसको अन्तर सम्बन्ध के छ ?
वास्तवमा मेरो हातमा सबै कुरा भयो भने म साहित्यमा बस्ने होला । साहित्यमा म शुरुदेखि नै थिए । राजनीति पछि आएको कुरा हो । मैले प्रधानमन्त्री भएको बेला समेत साहित्य क्षेत्रलाई छोडेको छैन् । आजभोलि पनि म अलि अलि साहित्यतिर छु । चाडै मेरो एउटा उपन्यास प्रकाशन हुन्छ होला सुदूरपश्चिम समेटिएको ।
नागरिकता विधेयकको बारेमा तपाँईको धारणा के छ ?
अहिले सबैमा अहमताको भावना बढेको छ । अर्कोलाई नेटेर्ने यो कुराले समस्या ल्याएको छ ।
अन्त्यमा के भन्न चहानुहुन्छ ?
मेरो सबैलाई नमस्कार छ । म खास गरेर जिल्लाबासीप्रति आभारी छु । उहाँहरुकै कारण म यो स्थानमा पुगेको हो । उनीहरुले माया नगरेको भए म के पनि गर्न सक्तैनथे ।




