बैतडी –हिन्दू नारीहरुको पर्व हरितालिका तीजको अवसरमा बैतडीमा कर्मचारी मिलन केन्द्रले तीज बिशेष कार्यक्रमको आयोजना गरेको छ । हरितालिका तीजको अघिल्लो दिन आज (सोमबार) मिलन केन्द्रका तर्फबाट तीज बिशेष कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्ला समन्वय समितिको हलमा आयोजनामा गरिएको कार्यक्रमका लागि कर्मचारी मिलन केन्द्रका संयोजक एवं शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले संयोजन गरेका थिए । जिल्लामा कर्मचारी मिलन केन्द्रका तर्फबाट पहिलो पटक तीज बिशेष कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
महिलाहरुलाई सम्मान गर्नका लागि दर खाने कार्यक्रम र नाचगान कार्यक्रम सञ्चालन गरिएको थियो । कर्मचारी मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।




