कैलाली –सुदूरपश्चिम सरकारले ल्याएको निजामति सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सोमबार प्रदेश सभाको १०औं अधिवेशनको २५ औं बैठकमा उक्त विधेयक पारित भएको हो ।
बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारितका लागि प्रस्ताव पेस गरेका थिए । उक्त विधेयकको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले विधेयकमाथि विरोध जनाए । यस्तै उनले यो विधेयक विवादित भएकाले फिर्ता लिनसमेत आग्रह गरेका छन् ।
प्रदेश सभाबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेर कानुनको रुप लिनेछ । प्रदेश सरकारले आँफैले नियुक्त गरेका ३३९ जना अस्थायी तथा करार सेवाका कर्मचारीलाई सिधै स्थायी गर्नेगरी विधेयक ल्याएको हो ।




