बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत बैतडीका चार पालिकामा हुने कार्यक्रममा केन्द्रिय सदस्य रमेश लेखकको सहभागिता रहने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समितिको बैठकले चार पालिकामा हुने कार्यक्रमको मिति समेत तय गरेको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
मेलौली नगरपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकाका लागि मिति तय गरिएको छ । चारओटै पालिकामा हुने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति चन्दले बताए ।
मेलौलीमा भदौ २१ गते, पाटनमा भदौ २२ गते, डिलाशैनीमा भदौ २३ गते र दशरथचन्द नगरपालिकामा भदौ २४ गते कार्यक्रम हुने बताइएको छ । नेपाली कांग्रेसले निर्वाचनलाई मध्यनजर राखेर ७७ ओटै जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएको छ ।
बैतडीका लागि केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य लेखकलाई खटाइएको र उनकै उपस्थितीमा कार्यक्रम हुने कांग्रेस बैतडीका सह–सचिव दिपेन्द्रबहादुर चन्दले बताए । कांग्रेसको नीति, आगामी निर्वाचनको रणनिती लगायतका बिषयमा आम मतदातालाई जानकारी दिनका लागि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गरिएको उनले बताए ।
अभियान अन्र्तगत तीन चरणमा कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने बताइएको छ ।
यस्तै टोल समिति गठन गर्न बाँकी रहेका पालिकाहरुमा यथाशीघ्र टोल समिति गठन गर्न समेत निर्देशन दिइएको छ ।




