बैतडी –बैतडीका स्थानीय तहहरुले औषधि खरीदमा बदमासी गरेको फेला परेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार स्थानीय तहहरुले नियम विपरीत औषधि खरीद गरेको देखिएको हो । जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा समेत स्थानीय तहहरु गम्भीर नदेखिएका हुन् ।
आर्थिक बर्ष २०७७÷७८ मा स्थानीय तहहरुले सार्वजनिक खरीद नियमावली विपरीत औषधि खरीद गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरीद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क) अनुसार औषधि खरीद गर्नुपर्ने भएपनि प्रक्रिया बेगर खरीद गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठनबाट प्रमाणित औषधिहरु खरीद गर्नुपर्ने र नियमानुसार खरीद गर्नुपर्ने भएपनि त्यसो नपाइएको प्रतिवेदनले जनाएको छ ।
जिल्लाको सुर्नया गाउँपालिकाले प्रक्रिया बेगर ४५ लाख १३ हजारको औषधि खरीद गरेको छ भने शिवनाथ गाउँपालिकाले २० लाख ७२ हजार बराबरको औषधि खरीद गरेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाले सार्वजनिक खरीद नियमावली विपरीत १७ लाख ६२ हजार ६९९ बराबरको औषधि खरीद गरेको छ भने पुर्चौंडी नगरपालिकाले २० लाख बढीको औषधि खरीद गरेको छ ।
यस्तै सिगास गाउँपालिकाले १५ लाख ८५ हजार बराबरको औषधि प्रक्रिया बेगर खरीद गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले औषधि खरीद, आपूर्ती, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्न सुझाव दिएको छ । यस्तै तोकिएकै गुणस्तर अनुसार औषधि भए नभएको एकीन गरी हस्तान्तरण तथा खरीद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्न समेत सुझाव दिएको छ ।




