Sagun Khabar
गौराका ब्रतालुलाई बिरुडाको जोहो गर्नै मुस्किल 

बैतडी –सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा घर आँगनमै आइपुगेको छ । गौरा नजिक आएपछि त्यसको तयारी समेत स्थानीयहरु जुटेका छन् । भाद्र शुक्ल पञ्चमीबाट शुरु हुने गौरा पर्वको तयारीमा लागेको दशरथचन्द नगरपालिका वडा नं १ की लक्ष्मी भाटले बताइन् । 

गौराको तयारीमा लागेका ब्रतालु महिलाहरुलाई बिरुडाको जोहो गर्न मुस्किल भएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा गहत, गुराउँस, गहुँ, मास र केराउलाई मिसाएर बिरुडाको रुपमा भिजाउने चलन रही आएको छ । तर पछिल्लो समयमा गहत, गुराउँस र केराउ पाउन मुस्किल भएको सुर्नया ३ की स्थानीय राजमती भट्टले बताइन् । उनले भनिन् ‘बिरुडाका लागि आवश्यक पर्ने दालहरु पाउन मुस्किल भएको छ । गहत, गुराउँस र केराउको खेती नै छोडीसकिएको छ । यसले बिरुडाका लागि आवश्यक पर्ने गहत, गुराउँस र केराउ पाउन मुस्किल भएको छ ।’

गौराको समयमा बिरुडा बनाउन आवश्यक पर्ने दलहनको जोहो गर्न मुस्किल भएको सुर्नया ६ की हरिना अवस्थीले बताइन् । पहिला पहिला गहत, गुराउँस र केराउको खेती गर्ने चलन रही आएको भएपनि पछिल्लो यसको खेती गर्न छोडिएको छ । त्यसले गर्दा गाउँघरमै बिरुडाको जोहो गर्न मुस्किल भएको छ । 

ग्रामीण क्षेत्रमै बिरुडाको जोहो गर्न मुस्किल भएका बेला शहर बजार नजिकका गाउँहरुमा बजारबाटै किनेर बिरुडा बनाउनुपर्ने बाध्यता रही आएको छ । बिरुडाका लागि आवश्यक पर्ने चीजहरु बजारबाटै किन्नुपर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिका ४ की अम्बिका भण्डारीले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update