बैतडी –नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलनका कारण बन्द रहेका बैतडीका विद्यालयहरुमा पठनपाठन सुचारु हुने भएको छ । विभिन्न माग राख्दै नेपाल विद्यालय कर्मचारी परिषदले देशैभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेको थियो । विद्यालय कर्मचारी परिषदले राखेका मागका बिषयमा सरकारले वार्ता गर्ने भएपनि आन्दोलनका कार्यक्रम स्थगित भएको परिषदले जनाएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले बैतडीका सामुदायिक विद्यालयहरुमा पनि पठनपठान सुचारु हुने भएको छ । आज हरितालिका तीजको अवसरमा विद्यालयहरु बन्द रहेपनि भोलिदेखि विद्यालय सुचारु हुने निङ्गलाशैनी मावि देहीमाण्डौंका प्रधानाध्यापक प्रेमसिंह बोहराले जानकारी दिए ।
जिल्लाभरीका सामुदायिक विद्यालयहरु अब सुचारु हुने बताइएको छ । कतिपय विद्यालयहरुले सूचना नै निकालेर विद्यालय कर्मचारी परिषदको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । कर्मचारी परिषदको आन्दोलनका कार्यक्रम स्थगित भएकाले विद्यालयमा अब नियमित रुपमा पठनपाठन सुचारु हुने सिद्धनाथ मावि सिलंगाका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । उनले भने ‘परिषदको आन्दोलनका कार्यक्रम स्थगित भएको भन्ने खबर आएको छ । अब विद्यालयहरुमा नियमित पठनपाठन हुन्छ ।’
सामुदायिक विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको पठनपाठनमा समस्या भएको भन्दै चिन्ता व्यक्त गरिएको थियो । सामुदायिक विद्यालय बन्द गरेर आन्दोलन नगर्न समेत धेरैले सुझाव दिएका थिए ।
सरकारले आफूहरुको तलब वृद्धि गर्नुपर्ने, यो भन्दा पहिला भएका सहमतिहरु कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरु राखेर विद्यालय कर्मचारी परिषद आन्दोलनमा उत्रेको थियो । सरकारले आन्दोलनरत पक्षसंग वार्ता गर्ने भनेपछि अहिलेका लागि आन्दोलन स्थगित भएको जनाइएको छ ।




