बैतडी –नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया मार्फत बच्चा जन्माएकी दशरथचन्द नगरपालिका ४ जर्गकी २१ बर्षीया महिलाको ज्यान सेनाको रक्तदानले जोगिएको हो ।
शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएपछि महिलालाई रगतको आवश्यकता परेको थियो । सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका बन्दोबस्त कार्य सिपाही लोकेन्द्र कार्कीले ती महिलाका लागि एक पिन्ट रगत दान गर्दा सुत्केरी ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए । अहिले नवजात शिशु र आमाको अवस्था समान्य रहेको छ ।
नेपाली सेनाले आवश्यक परेको बेला रक्तदान गर्दै आएको बैतडीस्थित हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए । रक्तदानका लागि जिल्ला अस्पतालबाट बेला बेलामा खबर आउने गरेको र खबर आउने बित्तिकै सेनाले रक्तदान गर्ने गरेको उनले बताए ।
यस अघि भदौ १० गते पनि रक्त अल्पता भएका एकजनाको ज्यान सेनाको रगतले जोगिएको छ । नेपाली सेनाका हवलदार लोकेन्द्र महताले गरेको रक्तदानले बिरामीको ज्यान जोगिएको सेनानी थापाले बताए ।
जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतको आवश्यकता परेका बिरामीहरुलाई बचाउन सेना र प्रहरीकै भर रहेको सूचना अधिकारी पन्तले बताए । तत्काल रगतको आवश्यकता पर्ने बिरामीलाई बचाउन नेपाली सेना र नेपाल प्रहरीलाई गुहार्नु पर्ने बाध्यता रही आएको छ ।





