बैतडी –बैतडीका विभिन्न स्थानमा सञ्चालनमा रहेका मेडिकलहरुले आफूखुसी औषधि विक्रि गरिरहेको खुलासा भएको छ । संयुक्त बजार अनुगमन समितिले अनुगमन गर्दा स्वीकृत लिए बाहेकका औषधिहरु पनि मेडिकलमा विक्रि भइरहेका पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
मेडिकलहरुमा आफूखुसी औषधि विक्रि गरिरहेको भन्ने जनगुनासोको आधारमा केही मेडिकलमा अनुगमन गर्दा स्वीकृती बेगर औषधि विक्रि गरिरहेको पाइएकाले त्यस्ता औषधिहरु जफत गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
बुधबार गोठलापानीस्थित भट्ट मेडिकल स्टोरमा अनुगमन गर्दा स्वीकृती लिएका बाहेकका औषधिहरु फेला परेकाले ती औषधिहरु जफत गरी मेडिकल सञ्चालकलाई सात दिनभित्र प्रशासनमा उपस्थित निर्देशन गरिएको सूचना अधिकारी भारतीले बताए । उनले भने‘अहिले हामीले बजार अनुगमन गरिरहेका छौं । यसैक्रममा मेडिकलहरुमा अनुगमन गर्दा स्वीकृती लिए बाहेकका औषधिहरु पनि विक्रि गरेको पाएका छौं । त्यस्ता मेडिकल सञ्चालकहरुलाई कारवाही गरेका छौं ।’
यस्तै डाक्टरको प्रेसकिप्सन बिना औषधि विक्रि गरिरहेको, लेवल नभएका आयुर्वेदिक औषधिहरु विक्रि गरिरहेको अनुगमनका क्रममा पाइएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
केही दिन अघि गरिएको अनुगमनका क्रममा बैतडीको डिलाशैनीस्थित रश्मी भट्ट मेडिकल हलमा पनि लेबल नभएका औषधिहरु अनुगमन टोलीले फेला पारेको थियो । मेडिकल सञ्चालकलाई सातदिन म्याद दिएर प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको थियो । सोही निर्देशन अनुसार मेडिकल सञ्चालकलाई ५ हजार जरीवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए ।





