बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीमा पनि तयारी शुरु भएको छ । निर्वाचनको तयारी स्वरुप जिल्लाका स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन÷निरीक्षण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
जिल्ला सुरक्षा समितिका तर्फबाट अहिले सम्म सातओटा पालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन निरीक्षण गरिएको उनले बताए । मतदानस्थल र केन्द्रहरुको भौतिक अवस्था, सुरक्षा संवेदनशीलताका लगायतका पक्षमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । उनले भने ‘हामीले जिल्लाका सातओटा पालिकाका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण गरेका छौं । मतदानस्थल र मतदान केन्द्रहरु अपांगमैत्री छन कि छैनन् ? सुरक्षा सम्वदेनशीलताका के छ ? भन्ने बिषयमा अध्ययन गरेका छौं ।’
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन ÷निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
अनुगमन गरेका स्थानीय तहमा मतदानस्थल र मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिइएको र समस्या देखिएका ठाउँमा सम्बन्धित तहलाई समाधान गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । केही मतदानस्थल र मतदान केन्द्र तोकिएका विद्यालयमा छानो उडेको पाइएकाले तत्काल मर्मत गर्न मौखिक निर्देशन दिइएको र जिल्ला सुरक्षा समितिका तर्फबाट लिखित निर्देशन समेत दिइने बताइएको छ ।
मतदानस्थल र केन्द्र पुनरावलोकन गरेका ठाउँमा समेत अनुगमन गरेको बताइएको छ । अनुगमन सकिएपछि मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलता निर्धारण गरिने बताइएको छ ।
बैतडीमा १२९ ओटा मतदानस्थल र २०५ ओटा मतदान केन्द्र रहेका छन् ।




