Sagun Khabar
एमालेले बैतडी (क) बाट पाल र (ख) बाट भट्टको नाम सर्वसम्मत सिफारिश गर्यो 

बैतडी – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिश गरेको छ । पाटनमा बसेको क्षेत्रीय कमिटि बैठकले प्रदेश सभा क्षेत्र नं (क)बाट जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम सर्वसम्मत सिफारिश भएको छ । 

क्षेत्रीय कमिटि संयोजक अक्कलबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले पालको नाम सिफारिश गरेको हो । 

यस्तै प्रदेश सभा क्षेत्र नं (ख) बाट केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सर्वसम्मत सिफारिश भएको छ । भट्ट अहिले पनि प्रदेशसभा सदस्य रहेका छन् । गएको चुनावमा उनी एमालेबाट निर्वाचित भएका थिए । आसन्न चुनावका लागि पनि उनको नाम सर्वसम्मत सिफारिश भएको निर्वाचन क्षेत्रीय कमिटि (ख)का संयोजक निर्मल पाण्डेले बताए । 

दुवै निर्वाचन क्षेत्रीय कमिटिले जिल्ला कमिटिलाई नाम सिफारिश गरेको उनले बताए । दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत नाम सिफारिश भएकाले प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ पाल र भट्ट उम्मेदवार हुने निश्चित भएको छ । 

यस्तै प्रतिनिधि सभा सदस्य र समानुपातिक सदस्यहरुको नाम जिल्ला कमिटिको बैठकले टुंग्याउने पाण्डेले बताए । जिल्ला कमिटिले नाम टुंग्याएर केन्द्रिय कमिटिमा पठाउने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update