बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको व्यापक आलोचना भएको छ । भदौ १७ गतेको बिदा कटौती गरेको सूचना प्रकाशन भएपछि अहिले सामाजिक सञ्जालमा प्रदेश सरकारको आलोचना भएको हो ।
बिदा कटौती गर्नु संस्कृतिमाथिको प्रहार भएको कतिपयले बताएका छन् । सुदूरपश्चिमको मौलिक र महानपर्व गौराको अवसरमा दिइएको बिदा कटौती गर्नु राम्रो नभएको स्थानीय संस्कृतिका जानकार हेमबाबु लेखकले बताए । उनले भने ‘मानसखण्डमा मनाइने गौरा पर्वको महत्व दशैंको भन्दा ठूलो छ । त्यसैले यो क्षेत्रको मौलिक पर्वको अवसरमा दिएको बिदा कटौती गर्नु गलत छ । गौरा पर्वमा सार्वजनिक बिदा यथावत राख्नु आवश्यक छ ।’
गौरा पर्वको अवसरमा दिइएको बिदा कटौती गर्नु संस्कृतिमाथिको प्रहार भएको लेखकले टिप्पणी गरेका छन् ।
गौरा पर्वको अवसरमा दिइएको बिदा कटौती गर्नु गौरा पर्वको महत्व घटाउन गरिएको दुष्प्रयास भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । गौरा पर्व यो क्षेत्रको मौलिक पर्व भएकाले यसको महत्वका बिषयमा सरकारले नजरअन्दाज गरेको उनले बताए । सरकारले हिन्दू धर्ममाथि नै प्रहार गरेको उनको बुझाई छ ।
प्रदेश सरकारले गौराको अवसरमा दिएको बिदा कटौती गरेपछि अब भदौ १८ गते संघीय सरकारले दिएको बिदा मात्रै कार्यान्वयन हुनेछ । सुदूरपश्चिममा बिरुडापञ्चमीदेखि दुर्वाष्टमी अर्थात अठ्यावाली सम्म गौरा पर्व धुमधामका साथ मनाउने गरिन्छ । तर प्रदेश सरकारले बिदा कटौती गरेको प्रदेशबासीले आलोचना गरेका छन् ।




