बैतडी –चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको संयुक्त बजार अनुगमन समितिले बैतडीम बजार अनुगमन कार्य जारी राखेको छ । आज बैतडीको शाहीलेक, देहीमाण्डौं, मुस्याचोर लगायतका बजारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा रहेको अनुगमन टोलीले मेडिकल, किराना पसल लगायतमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैतडीको मुस्यचोरामा रहेका दुईओटा मेडिकलहरुले अनुमति बिना क्लिनिक सञ्चालन गरेको पाइएको उनले बताए । सातदिन भित्र कागजात पत्र सहित उपस्थित हुन मेडिकल सञ्चालकहरुलाई निर्देशन दिइएको छ ।
मेडिकलबाट अनुमति बिना जथाभावी राखिएका औषधि समेत बरामद गरिएको छ । यस्तै देहीमाण्डौं र शाहीलेकमा पनि मेडिकलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा त्यहाँ पनि नियम विपरीत औषधि राखेको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
यस्तै बजार अनुगमनका क्रममा विभिन्न ठाउँमा अखाद्य सामग्री समेत बरामद गरिएको र ती सामग्रीलाई नष्ट गरिएको सूचना अधिकारी भारतीले बताए । २५ ओटा पसलबाट १८ हजार ६९० बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो । यस्तै दुई जना व्यापारीलाई ५ हजारका दरले जरीवाना गरिएको उनले बताए ।




