Sagun Khabar
बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि एमालेले भण्डारीलाई सर्वसम्मत उम्मेदवार सिफारिश गर्यो 

बैतडी –आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिश गरेको छ । बिहीबार साँझ बसेको जिल्ला कमिटिको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

एमालेका प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि सांसद रहेका छन् । गएको चुनावमा उनले बाम गठबन्धनबाट निर्वाचन जितेका थिए । यस्तै यो भन्दा पहिला उनले संविधानसभा सदस्यको निर्वाचनमा समेत जित हाँसिल गरेका थिए । 

भण्डारीको नाम सर्वसम्मत सिफारिश भएकाले अब जिल्लाले प्रदेश कमिटि र प्रदेशले केन्द्रिय कमिटिलाई नाम सिफारिश गर्नेछ । प्रतिनिधि सभा सदस्यका लागि एकजनाको नाम मात्रै सिफारिश भएकाले एमालेबाट भण्डारी उम्मेदवार हुने निश्चित भएको छ । 

यस्तै बिहीबार नै बसेको क्षेत्रीय कमिटि बैठकले प्रदेश सभा क्षेत्र नं (क) मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम उम्मेदवारका लागि सिफारिश गर्ने र प्रदेश सभा क्षेत्र नं (ख) मा पार्टीका जिल्ला सह–इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्टको नाम उम्मेदवारका लागि सिफारिश गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update