बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं २ भित्र पर्ने ग्रामीण सडक मर्मत गरिएको छ । वर्षातका कारण ठाउँ ठाउँमा बिग्रिएको स्यागैर ग्वानी गौराखाला सम्मको सडक खण्ड मर्मत गरिएको हो ।
वर्षातका कारण पहिरो र ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर सवारीसाधन सञ्चालनका लागि समस्या भएकोले चाड पर्वका बेला नागरिकहरुलाइ आवत जावत गर्न सजिलो होस् भनेर सडकमा सफाइ गरिएको वडा अध्यक्ष गाणेश बहादुर विष्टले बताए ।
सडक खराबभएर समस्या भइरहेका बेला आफु लगायत अन्य व्यापारीहरुले समेत गरेर २६ हजार रुपैँया संकलन गरि जेसिबी मार्फत सडक मर्मत गरिएको उनले बताए । गाउँपालिकाले सडक मर्मतका लागि बजेट छुट्टाएपनि अहिले निकासा नभएकाले आफुहरुले नागरिकहरुको सहजताका लागि पैसा उठाएर जेसिबी मार्फत सडक मर्मत गरेका उनले बताए ।
बिग्रिएको सडक बनेपछि अहिले सवारीसाधन सञ्चालनमा सहज भएको स्थानीय युवा नरेन्द्र विष्टले बताए । चाड पर्वका बेला सडक मर्मत हुँदा निकै सहज भएको उनले बताए ।
जिल्लाका धेरै ठाउँमा वर्षातका कारण बिग्रिएका ग्रामीण सडक अझै मर्मत नहुँदा यात्रुहरुले सास्ती भोग्नु परेको छ । अहिले गौराका लागि घर फर्किने नागरिकहरु बढेसंगै सवारीसाधनहरुमा पनि चाप भएकाले बिग्रिएका सडम मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।




