बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा पहिरोले खानेपानीको पाइपलाइनमा क्षति पुगेपछि नागरिकहरु समस्यामा परेका छन् । डिलाशैनी गाउँपालिकाको बृहत खानेपानी योजनाको पाइपलाईनमा पहिरोले क्षति गरेपछि नागरिकहरु पानी अभावमा समस्यामा परेका वडा नं ३ का स्थानीय गंगा सिंह बोहराले बताए ।
पाइलाइनमा क्षति भएर पानीको आपूर्ती बन्द भएपछि समस्या भएको उनले बताए । बृहत खानेपानी योजनाको पाइपलाइनमा पहिरोले बगाएर क्षति पुर्याउँदा वडा नं ३ , ५ , ६ र ७ का नागरिकहरुलाई समस्या भएको बताइएको छ ।
खानेपानी योजनाको पतपोडा, मट्टा खोला लगायतका ४ ÷५ ठाउँमा पहिरोले पाइपालाइनमा क्षति पुगेको स्थानीय एवं डिलाशैनी बृहत खानेपानी योजनाका अध्यक्ष धर्म सिंह बोहराले बताए । यहि भदौ १५ गतेको वर्षात संगै आएको पहिरोले पाइपलाइनमा क्षति पुगेपछि अहिले ४ सय घरधुरी खानेपानीबाट बञ्चीत भएका उनले बताए ।
पाइपलाइन पहिरोले बगाएपछि अहिले खानेपानीको जोहो गर्न समस्या भएको स्थानीयहरुको भनाई छ । अहिले आकाशे पानी र अन्य मुहानहरुबाट पानीको जोहो गरिरहेका स्थानीय अमर सिंह मालले बताए । धाराहरुमा खानेपानी आउन बन्द भएपछि अहिले निकै समस्या भएको वडा नं ५का हरि गिरिले बताए । खानेपानीको पाइपलाइनमा समस्या आएकोले मर्मतका लागि सम्बन्धित निकायलाई त्यहाँका नागरिकहरुले आग्रह गरेका छन् ।
यता खानेपानी योजनाका अध्यक्ष धर्मसिंह बोहराले खानेपानी योजनाको पाइपलाइनमा क्षति भएको कुरा स्थानीय सरकारलाई जानकारी गराएको बताए । सम्बन्धित निकायसंग समस्या दर्शाएकाले मर्मतका लागि आशावादी रहेका उनको भनाई छ ।




