बैतडी- बैतडीमा गौरा पर्वको रौनक छाएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली सम्पन्न भएपनि जिल्लामा गौराको रौनक कायम रहेको हो ।
गाउँघरमा गौराका समयमा खेलिने ठाडोखेल,ढुस्को, धमारी, चैत र देउडा लगायतका ऐतिहासिक खेलहरु अझै केही दिन जारी रहने देउडिया अुर्जन भट्टले बताए । पछिल्लो समय देउडाखेल मार्फत राजनितिक ब्यंग समेत गर्ने गरिएको छ । डेउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी डेउडा खेल्ने गरिएको स्थानीय नरेन्द्र विष्टले बताए ।
गौरा पर्व समापन नहुँदा सम्म खेलहरु जारी रहने गरेको उनले बताए । गौराका समयमा खेलिने देउडा महिला र पुरुष मिलेर देउडा खेल्ने चलन समेत रही आएको छ । कतिपय ठाउँमा महिला पुरुषका अलग– अलग देउडा खेल खेल्ने गर्दछन् भने केहि ठाउँमा महिला पुरुष एकै लहरमा देउडा खेल्दछन् ।
गौराको समयमा सबैसंग भेटघाट र भलाकुसारी हुने भएकाले गौरा पर्वलाई सामाजिक सद्भावको पर्व पनि भिनिन्छ । गौरापर्वका बेला आफन्त तथा प्रियजन संगको भेटघाट हुने भएकाले सबैजना एकैठाउँमा बसी रमाइलो गर्दै सुखःदुख साटासाट गर्दछन् । गौराका बेला कामको सिलसिलामा विदेश तथा जिल्ला बाहिर रहेकाहरु अहिले गाउँघर फर्किएकाले निकै रमाइलो भएको स्थानीय खेम राज भट्टले बताए ।
गौरा मनाउन घरदेश प्रदेश भएका सबै जना एकै ठाउँमा भेला हुने भएकाले यो पर्वमा यहाँ बढी भिडभाड पनि हुने गर्दछ । गौरा पर्वको अवसरमा करिब एक हप्ता जति मेला तथा जात्रा हुने भएकाले भिडभाड हुने गरेको छ ।
भिडभाडले विभिन्न अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै जिल्लामा सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीमा करिब एक हप्ता सम्म खेल खेलेर गौरा मनाउन छन् । बिरुडा पञ्चमीबाट सुरु भएको गौरा विसर्जन भने हरेक ठाउँको आआफ्नै चलन अनुसार गर्ने गरिएको संस्कृतिका जानकार एवं पण्डित खेम राज भट्टले बताए ।




