बैतडी –जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी सेवा सुरु भएको छ । पहिलो पटक जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ सहितको हाडजोर्नी सेवा सुरु भएको हो ।
डाक्टर अभावमा सेवा सुचारु गर्न नसकेको अस्पतालमा अहिले विशेषज्ञ डाक्टर आएपछि सेवा सुरु गरिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । हाडजोर्नी विशेषज्ञ डाक्टर प्रतिक शाह आएपछि सेवा सुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा विशेषज्ञ डाक्टर शाही हाजिर भएपछि हाडजोर्नी सम्बन्धि सेवा सुरु भएको उनले बताए । अब ढाड दुख्ने, जोर्नी दुख्ने र सुन्निने, चोटपटक लागेका, बाथ रोग भएका र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरूले नियमित रुपमा सेवा लिन सक्ने प्रमुख डाक्टर श्रेष्ठले बताए ।
जिल्ला अस्पतालमा हाडजोर्नी सेवा सुरु भएपछि अब जिल्लाबासीलाइ सेवा लिन सहज हुने भएको छ । यस्तै चाँडै नै हाडजोर्नी सम्बन्धि शल्यक्रिया सेवा पनि सुरु बताइएको छ । करिब १ महिना भित्रै हाडजोर्नी सम्बन्धि शल्यक्रिया सेवा सुचारु गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर श्रेष्ठले बताएका छन् ।




