बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोेकराज भट्टले जानकारी दिए । भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको उनले बताए ।
भाद्र शुक्ल द्वादशीबाट जात्रा शुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरुले आजैदेखि मन्दिरमा बस्न शुरु गरेको पूजारी भट्टले बताए । चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको छ । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको हो ।
निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्ने गर्दछन् । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको पूजारी भट्टले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलालाई भव्य रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । आजैदेखि मेलास्थल र आसपासका क्षेत्रमा मदिरा सेवन र कारोबार गर्न निषेध गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । उनले भने ‘हामीले निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन मदिरा निषेध गरेका छौं । कसैले यो निर्णयको उल्लघंन गरेमा कानुन अनुसार कारवाही हुन्छ ।’
मदिरा सेवन र बेचबिखनले जात्रास्थलमा विभिन्न खालका विकृति ल्याउने भएकाले मेला अवधिभर देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष बोहराले बताए ।
यस्तै निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा ड्यौडा प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा भाग लिन चाहने महिला तथा पुरुष ड्यौडियाहरुलाई आफ्नो नाम दर्ता गराउन मेला व्यवस्थापन समितिले आग्रह समेत गरेको छ । ड्यौडियाहरुले बिहीबारदेखि शुक्रबार १० बजे सम्म नाम दर्ता गराइसक्नुपर्ने समितिले जनाएको छ । महिला ड्यौडियाहरुले नाम दर्ता गर्दा ५ सय र पुरुष ड्यौडियाहरुले नाम दर्ता गर्दा एक हजार शुल्क लाग्ने समितिले जनाएको छ । उत्कृष्ट ड्यौडियाहरुलाई पुरस्कार समेत दिइने वडा अध्यक्ष बोहराले बताए ।




