Sagun Khabar
बैतडीमा अन्तरपुस्ता सम्वाद सम्पन्न 

बैतडी –बैतडीमा अन्तरपुस्ता सम्वाद सम्पन्न भएको छ । अक्सफाम नेपाल, युवालय र वाम संस्थाको आयोजना तथा दशरथचन्द नगरपालिकाको समन्वयमा बुधबार अन्तरपुस्ता सम्वाद सम्पन्न भएको हो । 

युवाहरुका लागि बनेका नीति, स्थानीय सरकारले युवाहरुका लागि सञ्चालन गरिरहेका कार्यक्रम र आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रमका बारेमा सबै उमेर समूहका मानिसहरुलाई जानकारी गराउन सम्वादको आयोजना गरिएको युवालयकी जिल्ला संयोजक कमला बिष्टले बताइन् । युवाहरुका सवालका बारेमा सबै उमेरका समूहका नागरिकलाई जोड्न सहज होस भनेर सम्वाद सञ्चालन गरिएको उनले बताइन् । 

स्थानीय सरकारहरुले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने र त्यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । युवाहरु अहिले पनि रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कायमै रहेकाले उनीहरुलाई रोजगारीसंग जोड्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा सम्वाद कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 

स्थानीय सरकारहरुले युवा रोजगारी सिर्जना गर्ने खालका नीति बनाइ त्यस्ता खालका कार्यक्रम सञ्चालन हुनुपर्नेमा सम्वादमा सहभागी युवाहरुको जोड छ । 

अन्तरपुस्ता सम्वादमा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले युवाहरुलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम ल्याएको दाबी गरे । आगामी दिनमा युवाहरुका मागलाई सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update