Sagun Khabar
‘जनताको साथमा कांग्रेस’अभियान : केन्द्रिय सदस्य लेखक बैतडीमा 

बैतडी – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेसले देशैभरी ‘जनताको साथमा कांग्रेस’अभियान सञ्चालन गरेको छ । बैतडीमा सञ्चालन भइरहेको अभियानमा केन्द्रिय सदस्य रमेश लेखकको सहभागिता रहेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए । 

केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य लेखकले विभिन्न ठाउँमा आयोजना भइरहेका कार्यक्रममा सम्बोधन गर्ने तालिका रहेको उनले बताए । मंगलबार मेलौलीमा आयोजना भएको कार्यक्रममा सहभागी भएका लेखकले बुधबार पाटनमा आयोजना भएको कार्यक्रममा सम्बोधन गरेका छन् । 

नेपाली कांग्रेसको नीति, सिद्धान्त र कांग्रेसको नेतृत्वमा भएका विकास निर्माणको कामका बारेमा जनतालाई जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको सचिव चन्दले बताए । उनले भने ‘आगामी चुनावमा नेपाली कांग्रेसको एजेण्डाका बिषयमा जानकारी दिनका लागि अभियान सञ्चालन गरेका हौं । कांग्रेसको संगठनलाई चलायमान बनाउनका लागि अभियानले सहयोग गर्ने हाम्रो विश्वास छ ।’

बुधबार पाटनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य लेखकले कांग्रेसको  नेतृत्वमा देशमा ठूला परिवर्तन भएकाले कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए । नेपाली कांग्रेसको जित भए मात्रै देशमा शान्ति स्थापना हुने भएकाले कांग्रेसको पक्षमा मतदान गर्न उनले आह्वान गरे । उनले भने ‘नेपाली कांग्रेसको नेतृत्वमा अहिले सम्मका सबै परिवर्तन भएका छन् । देश विकास पनि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ ।’

यस्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय भइसकेकाले सोही अनुसार अघि बढ्ने केन्द्रिय सदस्य लेखकले बताए । बैतडीको हकमा एक मात्रै निर्वाचन क्षेत्र भएकाले प्रतिनिधि सभाको टिकट कांग्रेसको भागमा पर्नुपर्ने आवाज आफूले केन्द्रिय तहमा राख्ने लेखकले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य लेखकले आफू मन्त्री भएको बेला बैतडीको विकासका लागि थुप्रै योजना अगाडि बढाएको दाबी गरे । कम्युनिष्ट सरकार आएपछि नेपाली कांग्रेसले अघि सारेका सबै योजनाहरुलाई अलपत्र पारेको उनले आरोप लगाए । 

नेपाली कांग्रेसका उपसभापति बीरबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेता लेखकका साथै पूर्वराज्य मन्त्री नरबहादुर चन्द, पूर्व सभापति शिवराज भट्ट, महासमिति सदस्य उत्तरबहादुर ऐर, हरिमोहन भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

आगामी निर्वाचनलाई मध्यनजर गरेर सञ्चालन भएको अभियान अन्तर्गत भोलि डिलाशैनीमा कार्यक्रम हुनेछ भने पर्सी दशरथचन्द नगरपालिकामा कार्यक्रम हुने सचिव चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update