Sagun Khabar
बैतडीमा चार दलले गरे उम्मेदवार सिफारिश 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीका चार ओटा राजनीतिक दलहरुले उम्मेदवार सिफारिश गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवार सिफारिश गरेका हुन् । दलहरुले आफ्ना माथिल्ला कमिटिहरुलाई उम्मेदवारको नाम सिफारिश गरेका हुन् । 

प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेकपा एमालेले भने सर्वसम्मत उम्मेदवार सिफारिश गरेको छ । प्रतिनिधि सभाका लागि प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीको नाम सिफारिश गरिएको छ भने प्रदेश सभा क्षेत्र नम्बर (क) का लागि जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर पाल र क्षेत्र नम्बर (ख)का लागि केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सिफारिश गरेको छ । 

यस्तै नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि जिल्ला सभापति चतुरबहादुर चन्द सहित ९ जनाको नाम सिफारिश गरेको छ । विनयध्वज चन्द, नरबहादुर चन्द, शिवराज भट्ट, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर र दिनेश भट्टको नाम सिफारिश गरेको कांग्रेसले जनाएको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्बर (क) मा पार्टी उपसभापति बीरबहादुर बिष्ट, महासमिति सदस्य हरिमोहन भण्डारी लगायत ८ जनाको नाम सिफारिश गरिएको छ । यस्तै प्रदेशसभा क्षेत्र नम्बर (ख)का लागि शिवराज भट्ट, तेजबहादुर चन्द, टेकराज जोशी लगायत १८ जनाको नाम सिफारिश गरिएको छ ।  

यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि पार्टीका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ( विजयसुन्दर)को नाम सर्वसम्मत सिफारिश गरेको छ । 

संघीय सांसदको समानुपातिक तर्फ लक्ष्मी ओड र स्वेता भट्टको नाम सिफारिश गरिएको माओवादी केन्द्र बैतडीले जनाएको छ । 

यस्तै प्रदेश सभा सदस्यका लागि पनि दुईटै क्षेत्रबाट उम्मेदवारको नाम पनि सिफारिश गरिएको छ । प्रदेश सभा क्षेत्र नम्बर (क) बाट प्रत्यक्ष तर्फ नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका शंकर भण्डारी , रणबहादुर कुँवर , वर्तमान प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य) , दल बहादुर धामी र धर्म सिह ऐरको नाम सिफारिश गरिएको हो । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिश गरिएको छ । प्रत्यक्ष तर्फ डा.केदारचन्द्र भट्ट , गोपाल चन्द ,इश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिश गरिएको जिल्ला संयोजक भण्डारीले जानकारी दिए । 

प्रदेश समानुपातिक तर्फ भने पार्वती नेगी, रेणु चन्द र लक्ष्मी पोखरेल बिकको नाम सिफारिश गरिएको माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए ।

यस्तै एकीकृत समाजवादीले प्रतिनिधि सभाका लागि पार्टीका जिल्ला इन्चार्ज परमानन्द भट्टको नाम सिफारिश गरेको छ भने समानुपातिक तर्फ केन्द्रिय सदस्य माया भट्ट र लालसिंह कार्कीको नाम सिफारिश गरेको छ । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (क)का लागि परमानन्द भट्ट,नरेन्द्र बिष्ट र भृकुटी चन्दको नाम सिफारिश गरिएको छ । यस्तै क्षेत्र नम्बर (ख)का लागि जिल्ला अध्यक्ष महादेव भट्ट, राजुराम भुल र पार्वती भट्टको नाम सिफारिश गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update