बैतडी –बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका सबै जसो स्थानमा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । मौसममा आएको परिवर्तनसंगै भाइरल ज्वरोका बिरामी बढेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
अहिले प्रत्येक गाउँमा भाइरल ज्वरो प्रकोप फैलिएको शंकरपुर स्वास्थ्यचौकीका अनमी सुनिता भट्टले बताइन् । स्वास्थ्य संस्थामा आउने धेरै जसो बिरामी मध्ये भाइरल ज्वरोका बिरामी धेरै आउने गरेको उनले बताइन् । उनले भनिन् ‘अहिले स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांशमा भाइरल ज्वरो देखिएको छ । ज्वरोका बिरामीहरुले धेरै आउने गरेका छन् ।’
मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । ज्वरोका बिरामीहरुले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा उनले जोड दिए । ज्वरोका बिरामीहरुमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए ।
पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरु समेत फेला पर्न थालेका डा.श्रेष्ठले बताए ।
ज्वरोका बिरामीहरुले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने डा.श्रेष्ठले बताए । ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उनले बताए । जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने उनले जोड दिए ।
भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने अनमी भट्टले बताइन् ।




