Sagun Khabar
बैतडीको डिलाशैनी–१ मदिरा निषेधित क्षेत्र घोषणा 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं १ को क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । यही भदौ २० गते बसेको वडा समितिको बैठकले वडा क्षेत्रभरी मदिराको कारोबार र सेवनमा रोक लगाएको डिलाशैनी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कृष्णकुमार धामीले बताए । 

मदिराको कारोबार र सेवनले समाजमा विकृति विसंगति फैलाएको, हत्या हिंसा जस्ता घटनाहरु बढीरहेकाले मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा कार्यालयले जनाएको छ । 

वडा कार्यालयले एक सूचना जारी गर्दै कसैले वडाको क्षेत्रभित्र मदिराको कारोबार गरेको पाइएमा पहिलो पटक १५ हजार जरीवाना गर्ने र दोहोरिएको पाइएमा दोब्बर जरीवाना गर्ने जनाएको छ । 

यस्तै वडा क्षेत्रभित्र कसैले मदिरा सेवन गरी होहल्ला गरेमा पहिलो पटक ५ हजार जरीवाना गर्ने र दोहोरिएमा दोब्बर जरीवाना गर्ने सूचनामा उल्लेख गरिएको छ । 

वडाभित्र सामाजिक सद्भाव कायम राख्न र समाजलाई सभ्य बनाउन यो कदम चालिएको वडा अध्यक्ष धामीले बताए । 
Dilasaini 11662629595.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update