बैतडी –नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले स्थिरता र विकासका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । ‘जनताको साथमा कांग्रेस’अभियान अन्तर्गत बैतडीको डिलाशैनीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य लेखकले संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरुबीच गठबन्धन भएको दाबी गरे । उनले भने ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको हो । संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेकाले गठबन्धनप्रति सबैले प्रतिबद्ध हुनु आवश्यक छ ।’
अब बन्ने सरकार कांग्रेसको नेतृत्वमा बन्ने समेत उनले दाबी गरे । गठबन्धन दलहरुबीच कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरामा सहमति हुनुपर्नेमा जोड दिए । स्थायी शान्ति र उन्नत लोकतन्त्रका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा लेखकले जोड दिएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।
नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेता लेखक सहित महासमिति सदस्य उत्तरबहादुर ऐर, हरिमोहन भण्डारी, दिनेश भट्ट, नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्द र देवराज जोशी, डिलाशैनी गाउँकार्य समिति सभापति जयानन्द जोशी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । ।
यसअघि नेता लेखकले आजै नेपाली कांग्रेसका पुराना नेता महेशशरण भट्टलाई भेटेका थिए । दोगडाकेदार ४ पिपलकोटस्थित उनकै निवासमा नेता लेखकले भट्टलाई भेटेका हुन् । भेटका अवसरमा आगामी निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनलाई जिताउनुपर्नेमा उनले जोड दिएको स्वकीय सचिव भट्टले जानकारी दिए ।




