बैतडी –सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा ड्यौडा प्रतियोगिता सुरु भएको छ । ड्यौडा मूल आयोजक समितिको आयोजना, पाटन नगरपालिका, पाटन नगरपालिका वडा नं ८, वडा नं ९, वडा नं १० र स्थानीय व्यापारीहरुको सहयोगमा बिहीबारदेखि प्रतियोगिता शुरु भएको हो ।
स्थानीय कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । प्रतियोगितामा ३२ जना महिला तथा पुरुष ड्यौडियाहरुको सहभागिता रहेको छ । भोलि शुक्रबार प्रतियोगिता समापन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई नगद सात हजार, तेश्रो हुनेलाई नगद ५ हजार र सान्तवना स्थान प्राप्त गर्नेलाई नगद २ हजार पुरस्कार दिइने वडा अध्यक्ष बिष्टले बताए ।
ड्यौडा प्रतियोगितामा खोड्पे र आसपासका क्षेत्रका सैयौं नागरिकको सहभागिता रहेको छ । प्रतियोगितामा ड्यौडाका साथै ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएका वडा अध्यक्ष बिष्टले बताए ।
यसैबीच पाटन नगरपालिका वडा नं ४ को ठाँड बजार पनि ड्यौडा कार्यक्रम सम्पन्न भएको छ । पाटन नगरपालिका वडा नं ४ र ठाँड बजार व्यवस्थापन समितिको आयोजनामा ड्यौडा कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि ड्यौडा कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष दिपकसिंह बिष्टले जानकारी दिए ।
सो कार्यक्रममा महिला र पुरुष गरेर ५ जना ड्यौडियाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई एक हजारका दरले पुरुस्कार प्रदान गरिएको बताइएको छ ।




