Sagun Khabar
बैतडीमा पनि मनाइयो अन्तर्राष्ट्रिय साक्षरता दिवस 

बैतडी –बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । विभिन्न शिक्षण संस्थाहरुले दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेका विद्यालयहरुले जनाएका छन् । 

बैतडीको मेलौली नगरपालिका २ स्थित केदारेश्वर किशोरकिशोरी समूहले दिवसको अवसरमा अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको सहजकर्ता प्रकाश बडूले बताए । 

यस्तै ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मणिलेक मावि काँडा मेलौली विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको शिक्षक अर्जुन कुँवरले जानकारी दिए । दिवसको अवसरमा विद्यालयका भूतपूर्व शिक्षक तारादत्त भट्ट, दशरथ जोशी, गगन पोखरेल र गणेशदत्त भट्टलाई सम्मान गरिएको छ । 

यस्तै विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको शिक्षक कुँवरले बताए । यस्तै विद्यालयमा अक्षय कोष स्थापना गर्ने परिवारका सदस्यहरुलाई पनि दिवसको अवसरमा सम्मान गरिएको छ । 

दिवसको अवसरमा पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले र्याली सहित विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । यस्तै पुर्चौंडी नगरपालिका ७ स्थित गलिनाथ माविले दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक दिनेश नगारीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update