बैतडी –बैतडीको सुर्नया गाउँपालिका –६ स्थित शंकर संस्कृत मावि मूलखटालीको ७० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए ।
समारोहमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा, वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांश भट्ट र गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थी बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रामबहादुर बिष्टले १ करोड ४२ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । यस्तै आगामी बर्षका लागि १ करोड ९३ लाख ९६ हजार ५५२ रुपैंयाको बजेट पेश गरिएको विद्यालयका शिक्षक परमानन्द अवस्थीले बताए ।
बार्षिकोत्सवमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको शिक्षक अवस्थीले बताए ।
वि.स. २००९ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाइ रहेको र ४ सय ९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । शंकर संस्कृत माविमा संस्कृत बिषयको समेत पढाई हुने गरेको छ । जिल्लाको शंकर संस्कृत मावि मूलखटाली र सरस्वती मावि नगतडीमा मात्रै संस्कृत बिषयको पढाई हुने गरेको छ ।
बार्षिकोत्सव समारोहमा बोल्दै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले शंकर संस्कृत मावि आफूले पढेको विद्यालय भएकाले विद्यालयलाई आवासीय रुपमा सञ्चालन गर्न पहल गर्ने बताए । यस्तै विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिने उनले प्रतिबद्धता जनाए ।
बार्षिकोत्सव समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले विद्यालयको सर्वाङ्गीण विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताइन् ।




