Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज ठूली जात, दर्शनार्थीहरुको घुइचो

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा आज ठूली जात मनाइँदै छ । भाद्र शुक्ल द्वादशीबाट सुरु भएको जात्रामा आजको दिनलाई ठूली जात भन्ने चलन रही आएको निङ्गलाशैनी धार्र्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । मेलामा आज बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको उनले  बताए । 

परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको हो । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्ने गर्दछन् । 

महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवतीका पूजारी लोकराज भट्टले बताए । 

निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । ठूलीजातमा दर्शनार्थीको घुइचो लागेको निङ्गलाशैनी धार्मिक सेवा समितिले जनाएको छ । 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलालाई भव्य रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलास्थल र आसपासका क्षेत्रमा मदिरा सेवन र कारोबार गर्न निषेध गरिएको र कसैले निर्णय उल्लंघन गरेमा कारवाही हुने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहारले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update