Sagun Khabar
बैतडीको पाटनमा लैंगिक हिंसा निवारण कोष परिचालन सम्बन्ध छलफल 

बैतडी –हिंसा प्रभावित महिलाहरुका लागि स्थापना भएको लैगिंक हिंसा निवारण कोष परिचालनका बिषयमा बैतडीको पाटन नगरपालिकामा अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ । 

नगरपालिकाले लैगिंक हिंसा निवारण कोष परिचालनका लागि कार्यविधि बनाएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि छलफल गरिएको हो । नेपाल सरकारले हिंसा प्रभावितहरुको सहयोगका लागि लैंगिक हिंसा निवारण कोष स्थापनाको अवधारणा ल्याएकाले त्यो कोषलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ । 

पाटन नगरपालिकाको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भीएसओ र पीसवीन नेपालको सहयोगमा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा पीसवीनका कार्यक्रम संयोजक माधव भट्टले लैंगिक हिंसा निवारण कोषको परिचालनका बिषयमा जानकारी गराएका थिए । 

अन्तरक्रियामा सहभागी पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले अब प्रत्येक महिना  लैंगिक हिंसा निवारण समितिको बैठक बस्ने र त्यसले कोष परिचालनका लागि पहल गर्ने बताए । 

यस्तै हिंसा प्रभावितहरुलाई सहयोग गर्नका लागि कोषको प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय समेत भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम अधिकृत खगेन्द्र भट्टले बताए । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले लैंगिक हिंसामा परेका व्यक्तिहरुलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update